Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एनआरएनएले चार सय भूकम्पपीडितलाई गर्‍यो एक करोडको राहत सामग्री वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट र रुकुमपश्चिमका चार सय जना भूकम्प पीडितलाई एक करोड बराबरको राहत वितरण गरेको छ । एनआरएनएले जाजरकोटको भेरी नगरपालिका–१ बाहुनथानका दुई सय जना र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका दुई सय जना भूकम्प पीडितलाई मंगलबार राहत हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव मनोज श्रेष्ठसहितका पदाधिकारी जाजरकोटमा र महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ् लगायतको टोलीले रुकुमपश्चिममा राहत वितरण गरेको हो । जिल्लाको विपद् व्यवस्थापन समिति र जिल्ला स्थित सक्रिय राजनीतिक दलको सर्वदलीय बैठकले बाहुनथानमा राहत वितरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार राहत वितरण गरिएको एनआरएनएका सचिव एवं राहत व्यवस्थापन समितिका संयोजक मनोज गोर्खालीले जानकारी दिए ।

4.jpg

विभिन्न बाध्यता र परिस्थितिले गर्दा विदेशमा भएपनि त्यहाँ रहेका नेपालीहरुले गास कटाएर यो विपद्मा सहयोग गरिएको एनआरएनका अध्यक्ष डा. बद्री केसीले बताए ।

‘हामी विदेशमा भएपनि नेपाल र नेपालीप्रतिको मायाँ धेरै छ । यहाँ आपत विपद् हुँदा हाम्रो मन रुन्छ,’अध्यक्ष केसीले भने, ‘एनआरएनमा आवद्ध साथीहरुले थोरै –थोरै उठाएर दिएको रकमले सहयोग गरेका छौं ।’ प्रति घरपरिवार ५० किलोको एक प्याक चामल, पाँच लिटर तेल, पाँच किलो दाल, दुई किलो नुन, चप्पल, न्यानो लूगाकपडासहित ११ प्रकारका सामग्री वितरण गरिएको छ ।

अध्यक्ष केसीले पीडितको आगनमै गएर प्रत्यक्ष सहयोग गर्न सहजिकरण गरिदिएकोमा प्रशासन र विपद् व्यवस्थापन समितिलाई धन्यवाद दिए । राहत वितरण कार्यक्रममा भेरी नगरपालिकाका नगर प्रमुख सिपी घर्ती, सुर्खेतका समाजसेवी हरि विष्ट लगायतको सहभागिता रहेको थियो ।