Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ ।

कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट रु ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, ‘पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।’ चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा रु एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिए । उनले भने, ‘हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।’

चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा रु ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिए । यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक साङ्गीतिक कार्यक्रम (कन्सर्ट) बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताए ।