Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

संसदमा भन्दा म टेलिभिजन सञ्चारकर्मी हुँदा बढी प्रभावकारी थिएँः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ताको स्वार्थपूर्ति गर्न ‘महागठबन्धन’ बनाउन सक्नेलाई शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका छन् ।

आज बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले कोशी प्रदेश सरकारको उदाहरण दिँदै शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् । ‘कोशीमा सत्ता स्वार्थमा मिल्न सक्ने, महागठबन्धन बन्न सक्ने तर पीडितलाई न्याय दिने विषयमा शान्ति प्रक्रिया टुंगो लगाउन कसले रोक्यो, हामी नयाँ दलले ? हामी प्रक्रियागत रूपमा पीडितको पक्षमा रहेर कहाँ सहयोग गर्नुपर्ने हामी दिन तयार छौँ’, उनले भने ।

ठूला दलहरूमा व्यवस्था गुम्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । कसका कारणले व्यवस्था गुम्ने हो भन्दै उनले प्रश्न समेत गरे । व्यवस्था अरूका कारण कि तपाईं हाम्रो चरित्रका कारण खतरामा छ भन्दै उनले थप प्रश्न गरे । ‘यसमा प्राथमिकता दिएको भए यसमा चिन्ता गर्नुपर्ने थिएन । व्यवस्था जोगाएका छौँ कि आफ्नो मान्छे रु’, उनले भने, ‘साँच्चै मुलुकको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मान्छे छुटाउने चिन्ता हुने थिएन ।’

उनले संसद्ले जनप्रतिनिधिको आवाज सुनेको छैन भने नागरिकको आवाज कसरी सुन्छ भन्दै प्रश्न गरे । पार्टीले पटक–पटक दर्ता गराएको संकल्प प्रस्तावलगायत विषय सरकारले छलफलमा नल्याएको उनले उल्लेख गरे । गत वैशाख २४ गते सुरु संसदको बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उनले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गरे ।

‘६ महिनाको समय र करिब ६ करोड खर्चिएर यो सदनले मात्र एउटा कानुन पास गर्‍यो, यो भन्दा धेरै प्रभावकारी म टेलिभिजन सञ्चारकर्मी हुँदा हुने गर्दथेँ । नागरिकको समस्या सुल्झाउने काममा यो भन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ’, उनले भने । संसदमा जनप्रतिनिधिले उठाएको आवाज समेत सरकारले नसुनेको र मन्त्रीहरुलाई सोधेको प्रश्नको जवाफ नपाएको लामिछानेले बताए । ‘ध्यानाकर्षणका लागि हामीले उठाएको विषय मन्त्रीले टिप्छन् कि टिप्दैनन् तर जवाफ दिएका छैनन्’, उनले भने ।