Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तेक्वान्दो खेलाडी पलेशालाई प्रधानमन्त्री दाहालले दिए बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई बधाई दिएका छन्।

चीनको हाङचाओमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवद्र्धनलाई बुधबार प्रधानमन्त्री प्रचण्डले कार्यालयमा भेट गर्दै बधाई दिएका हुन् ।प्रधानमन्त्री प्रचण्डले पलेशालाई सिंहदरबारमा भेटी बधाई दिएका हुन्। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि दाहालले बधाई दिएका थिए।

भेटमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतको उपस्थिति थियो। पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजी मुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन्। पलेशाले जितेको पदक नेपालले एसियाली पारा खेलकुदमै जितेको पहिलो पदक पनि हो।

1.jpeg

काठमाडौं महानगरपालिका–२८ बागबजार निवासी पलेशा सन् २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जितिसकेकी छन् । पलेशाले यसअघि सन् २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन्। २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कास्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्।  

राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो। त्यसमा उनी पाँचौ भएकी थिइन्। 

2.jpeg