Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विशेष वार्ता: ‘जलवायु न्याय’ का लागि महासचिव गुटरेसको भ्रमण फलदायी हुन्छ: पूर्व राजदूत दिनेश भट्टराई (भिडियो)

काठमाडौं। पूर्व राजदूत एवं कुटनीतिज्ञ डाक्टर दिनेश भट्टराईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसमार्फत नेपालले असमानपूर्वक भोग्दै आएको जलवायु परिवर्तनको असरबारेको सन्देश विश्वसमुदायमा जानु ‘जलवायु न्यायका’ लागि नेपाललाई राम्रो हुने बताएका छन् ।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरसले नेपालले जलवायु परिवर्तनका कारण भोग्दै आएको असर र हिमाली क्षेत्रमा परेको नकारात्मक प्रभावबारे सोमबार सर्वाेच्च शिखर सगरमाथा र मंगलबार अन्नपूर्ण वेश क्याम्पबाट प्रत्यक्ष अवलोकन गरी विश्व समुदायमा सन्देश प्रशार गरेका छन्। उनले महत्वपूर्ण हिमाली क्षेत्रको प्रत्यक्ष अवलोकन र निरिक्षण गर्दा जलवायु परिवर्तका कारण नेपालले भोगेको समस्याबारे विश्वमाझ सन्देश दिएका छन् ।

अमेरिकाका लागि नेपालको राजदूत रहिसकेका भट्टराईसँग महासचिवको यो भ्रमणले कस्तो सन्देश दिन्छ र यसले नेपाललाई के लाभ हुनसक्छ भनेर हामीले कुराकानी गरेको थियौं। पूर्व राजदूत भट्टराईले महासचिव गुटरेसले गरेको जलवायु प्रभावित क्षेत्रको भ्रमण नेपालका लागि सुखद भएको बताएका छन् । उनले नेपालले असमान रुपमा विश्वले जलवायु परिवर्तनमा गरेको गल्तीको नकारात्मक असर भोगिरहेको भन्दै त्यसका लागि विश्वसमुदायमाझ गुटरेसको भ्रमणले राम्रो सन्देश जाने र नेपाललाई ‘जलवायु न्याय’ दिलाउन सहयोगी बन्ने तर्क गरेका छन् ।

Dr Dinesh Bhattarai.png

संयुक्त अरब इमिरेट्समा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २८ मा नेपालले जलवायु परिवर्तनको कारण भोगेको असर त्यसको प्रभावबारे जलवायु न्यायका लागि नेपाललाई मद्दत पुग्ने भट्टराईको भनाई छ ।

उनले भने,‘जुन कोप २८ हुँदैछ । त्यसमा नेपालले जलवायु न्यायको लागि दाबी गर्दैछ । त्यसमा महासचिव गुटरेसले नेपालले भोगेको जलवायु असर सत्य हो र नेपालले न्याय पाउनुपर्छ भनिदिँदा सबैलाई सन्देश जानेभयो । जलवायु न्यायको बारेमा नेपालले हक माग्दा त्यसमा विश्का सबै राष्ट्र संवेदनशील होलान् र उनीहरुको नेपालप्रति ध्यानाकर्षण होला । महासचिवको भ्रमण र प्रत्यक्ष अवलोकनले नेपाललाई न्याय दिलाउन हाइलाइट गर्छ । नेपालको लागि यो राम्रो हो ।'

हेर्नुहोस् पूर्वराजदुत भट्टराईसँगको कुराकानी भिडियोमा -