संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान बुद्ध जन्मस्थल लुम्बिनी जाँदैछन् । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका गुटेरेस आज बिहान पोखराबाट लुम्बिनी जाने भएका हुन् ।
महासचिव गुटेरेस मंगलबार बिहान ८ः३५ मा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकोप्टरमा बिहान ८ : ५० बजे लुम्बिनी पुग्नेछन् । हेलिकोप्टरमा लुम्बिनी पुगेपछि गुटेरेसलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिनेछ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् ।
मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ । गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ ।
यस्तै, संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आज बस्दै छ । आज अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नेछन् ।
बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । उनको सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको संसद् सचिवालयले जनाएको छ । बिहान १० बजेसम्म साजसज्जालगायत सबै तयारी सकिने सचिवालयले बताएको छ ।