Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा

 संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन् ।

गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे ।

विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जातजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो । गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए । महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गए। उनी आज पोखरा बस्ने र मङ्गलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ ।