Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडौँ जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिवाना तिराएर कारबाही गरेको छ भने यात्रुहरूको भाडा फिर्ता गराएको छ । 

दमौलीबाट काठमाडौँ छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ । bदमौलीबाट काठमाडौँसम्मको भाडा रु छ सय ५० रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको छ । विष्टले भने, ‘दसैँको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैँ चेकजाँचका लागि पुगेको थिएँ, काठमाडौँ जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौँ ।’

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरे। यस्तै, भोर्लेटारचोकमा बिहानै काठमाडौँ जाने यात्रुहरुबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ ।