Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेपालद्वारा यूएईलाई १६३ रनको लक्ष्य

ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । भुर्तेलले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रनको योगफल खडा गरेको हो । 

भुर्तेलले ५० रन बनाए । उनले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो छैटौं अर्धशतक हो ।  उनले पहिलो विकेटका लागि आसिफ सेखसँग पाँच ओभरमा ४३ रनको साझेदारी गर्दै नेपालले उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, त्यसपछिका ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन । आसिफ सात रनमा आउट भएका थिए ।  नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २०, कप्तान रोहितकुमार पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन थपे ।  नेपालले पहिलो १० ओभरमा तीन विकेट गुमाएर ९५ रन बनाएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाउँदा अन्तिम १० ओभरमा नेपालले ६७ रनमात्र थप्न सक्यो ।

नेपालबाट नवौं नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १७ बलमा दुई चौका र एक छक्कासहित २३ रन थपे । यूएईका आयान अफजल खानले तीन विकेट लिए । अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनैद सिद्दिकीले एक विकेट हात पारे । नेपाल र यूएईसँगै हङकङ सहभागी शृंखलामा नेपालले लिग चरणमा शतप्रतिशत जितसहित फाइनलको यात्रा तय गरेको थियो । यूएईले भने चार खेलबाट दुई अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । यूएई र हङकङको समान अंक भए पनि नेट रनरेटका आधारमा मुहम्मद वसिमको कप्तानीमा रहेको टिम फाइनल प्रवेश गरेको हो । 

लिग चरणमा नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले, तेस्रो खेलमा पुनः हङकङलाई ७९ र चौथो खेलमा यूएईलाई पाँच विकेटले हराएको थियो ।