Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

 खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो ।

श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमानलाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए । बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यहीँ पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

मृत श्रीमतीको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतीका दुई छोरी छन् ।