Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा

बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । दसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।

उक्त बच्चाको तौल चार केजी ७५० ग्राम रहेको अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएकी अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् ।

दसैँका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका श्रीमान् नेत्रबहादुर छन्त्यालले बताए । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकोमा अहिले चार किलो ७५० ग्रामको बच्चाको जन्म भएको हो ।