Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अब राजालाई गाली गरेर सत्ता टिकाउँछु भन्ने नसोचे हुन्छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रले जनतामा निरासा र क्रोध बढाएको दाबी गरेका छन् । प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनताको एक मात्र आशा राजसंस्था भएको दावी गरे ।

टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए ।

पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधिमा भइरहेका टिप्पणीप्रति पत्रकारको जिज्ञासामा उनले भने, ‘२५० वर्षको इतिहास र गौरवशाली परम्परालाई राजमुकुट यहाँ छ, राजदण्ड यहाँ छ भनेर जिम्मा लगाएर देश नछोडी देशको बिग्रँदो अवस्थाप्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको सट्टा गणतन्त्रका संवाहक भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्‍यो । अब पनि राजालाई गाली गरेर सत्ता टिकाउन र जनतालाई मुर्ख बनाउन सकिन्छ भनेर नसोचे हुन्छ ।’ दसैँतिहार, छठ सकिएपछि केन्द्रीय समितिको बैठक बस्ने र त्यसले जनदबाबका थप कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ ।