Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव

पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्‍याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो । 

खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले गत भदौ २१ गते पहिरोस्थलमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको थियो । विभागका भूगर्भविद अनिस खनाल, प्राविधिक विरास मल्ल र ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ती घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिए । 

पहिरोको चपेटामा परेका स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर कार्की र डेकबादुर कार्कीको घर सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको आचार्यले जानकारी दिए । पहिरोस्थलको अध्ययनपछि भूगर्भविद्ले दिएको प्रतिवेदनको आधारमा पीडित परिवारलाई स्थानान्तरणका लागि आवश्यक जग्गा व्यवस्थापन र समन्वय तथा सहकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जलजला गाउँपालिकाले पहल गरिरहेको छ ।

आगामी वर्षा हुनु अगावै ती घरहरू सुरक्षित स्थानमा सारिएन भने फेरि पहिरोले जोखिम निम्त्याउन सक्ने भएकाले पालिका र पीडितबीच समन्वय गरेर नयाँ ठाउँमा घर निर्माण गर्नका लागि पहल गरिएको समेत प्रजिअ आचार्यको भनाइ छ । कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका–६ वटा घर विस्थापित हुनुका साथै झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा आउने लेदो सहितको पहिरोले हालसम्म ६ वटा घरपरिवार समस्या परेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । 

‘पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, हामीले आगामी वर्षायाम अघिनै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकेनौँ भने फेरि ठूलो जोखिम आउन सक्छ, हामी त्यसतर्फ सचेत बनेर कार्ययोजनामा लागेका छौँ’, आचार्यले भने । वर्षायाममा ती पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिएर बसेका थिए । वर्षा सकिएसँगै उनीहरू घर फर्किएका छन् । 

कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरो पीडित पदम कार्कीले बताए । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको थियो । उक्त पहिरोकै कारण पूर्ण गाउँमा रहेको बराह ताल पूर्णरुपमा बगर बनेको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई वटा मन्दिरमा क्षति पुगेको छ ।  त्यसैगरी मल्लाजहुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडक पूर्णरुपमा क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार यस वर्षको वर्षायाममा जिल्लाभर २७ वटा घरमा क्षति पुगेका छ ।