Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

देश बनाउन सबैको संकल्प आवश्यक: उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्। दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् । 

देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताइन्। देशप्रतिको माया, लगानी हुन सकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स्वार्थ हुनुपर्ने उनको भनाइ थियो ।  एक प्रसङ्गमा देशमा भइरहेको राजनीतिक कार्यशैली अपेक्षाकृत सुधार हुन नसकेकोमा उपसभामुख रानामगरको असन्तुष्ट थियो । उनले भनिन्, ‘यो व्यवस्थाले यतिका वर्ष बिते पनि देशमा समग्र सुधार हुन नसक्नु चिन्ताको विषय हो, यसमा सबैको ध्यान जानुपर्छ ।’

गृह जिल्ला झापादेखि काठमाडौँ फर्किने क्रममा उपसभामुख रानामगरले देश निर्माणमा सबै दल, व्यक्ति, नागरिक समाजको साझा राष्ट्रिय संकल्प खाँचो रहेको र त्यसका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइन्  ।