आसिक अर्थात् आशीर्वाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छालाई नै आशीर्वाद भनिन्छ ।
दसैँमा अक्सर आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशीर्वाद दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सङ्केत गर्छ । मान्यजनले दिने आशिष् हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठुलाबडाहरूले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो ।
दसैँमा टीका लगाउँदा पुरुषलाई दिने आशीर्वाद–
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
ससर्ती सुन्दा यसको अर्थ केलाउन सकिँदैन । तर, चार हरफको यो श्लोकले हामीलाई सही ढंगको जीवन बाच्नका लागि उपयुक्त मार्ग देखाइदिन्छ । विभिन्न पौराणिक पात्रको विशेषता उल्लेख गर्दै त्यस्तै कुरा प्राप्त गर्न सदिच्छा यसमा राखिएको छ ।
यसको अर्थ यस प्रकार छ–
द्रोण पुत्र अस्वत्थामाको जस्तो लामो आयु अर्थात् दीर्घायु हुनु । दशरथ राजाको जस्तो धन सम्पति होस् । भगवान् रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशीलता होस् ।
दुर्योधनको जस्तो मान होस् । सूर्य पुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादीता हुनु । विदुरको जस्तो ज्ञान होस् । भगवान् नारायणको जस्तो कृति वा प्रसिद्धि होस् । भन्दै मान्यजनबाट आशीर्वाद लिइन्छ ।
दसैँमा टीका लगाउँदा महिलालाई दिइने आशीर्वाद–
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
यसको अर्थ यस्तो छ–
जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलीनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र, मुक्ति देवीको रूपमा प्रसिद्धि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुसी, मंगल हुनु । पालिकनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु ।
दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान् हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देवीले जस्तै हरेक यज्ञ र दान पुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दान पुण्य को सङ्कल्प लिनु ।