Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

टी-२० सिरिजमा युएईसँग हङकङ ६ विकेटले पराजित

त्रिदेशीय टी-२० सिरिजमा युएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ।  आइतबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले १८ ओभरमै हङकङले दिएको १५० रनको लक्ष्य पछ्याएको हो।

हङकङले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। हङकङले दिएको लक्ष्य पछ्याउनेक्रममा युएईले चार विकेट गुमाएर १२ बल बाँकी रहँदै १५३ रन बनाएको हो।  हङकङका लागि बाबर हायातले सर्वाधिक ६६ रन बनाएका थिए। यस्तै ऐजाज खान अविजित रहेर ४८ रन बनाएका थिए। अन्शी राथले १४ रन बनाएका थिए भने अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन्। यता बलिङतर्फ युएईका जहुर खानले ३ विकेट र निलन्श केशवानीले दुई विकेट लिए। खान प्लेयर अफ दी म्याच समेत बनेका छन्। युएईको ब्याटिङ तर्फ मोहम्मद वासीमले सर्वाधिक ४० रन, खालिद शाहले ३७ रन, भ्रित्या अर्विन्द २९ रन, अलिशान शरफुले २० रन, आसिफ खानले १२ रन र बसिल हमीदले ११ रन बनाए। 

हङकङका यासिम मुर्ताजाले दुई विकेट, एसान खान र निजाकत खानले एक-एक विकेट लिए।  यस सिरिजको अर्को खेल आइतबार बिहान ११ बजे मुलपानीमा नेपाल र युएईबीच हुनेछ। नेपालले लगातार तीन वटा खेल जितिसकेको छ।  बुधबार हङकङ र युएईबीच अर्को खेल हुनेछ। यस सिरिजको फाइनल खेल भने शुक्रबार कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।