Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल निर्माणको शिलान्यास गर्दै उनले पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहने बताए । मन्त्री बस्नेतले अस्पताल भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने वचन दिए ।

‘अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ’, उनले भने, ‘पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।’ उनले आयुर्वेदको विकासका लागि सरकारले जेजति गर्नुपर्ने थियो अझै हुन नसकेको बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महासभाको २२औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए ।  सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए ।