Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले घरेलु मैदानमा आजदेखि सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितले अविजित ५१ रन बनाए । रोहितले ४० बलमा पाँच चौका प्रहार गरे । रोहितसँगै अविजित रहेका दीपेन्द्रसिंह ऐरीले २३ बलमा तीन चौका र एक छक्कासहित ३४ रन थपे । ५१-३ को अवस्था रहदा यी दुईले चौथो विकेटका लागि ९० रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका हुन् । यसबाहेक, आसिफ सेखले २३, कुशल भुर्तेलले १४ र कुशल मल्लले ११ रन जोडे ।

यूएईका अली नासिर र निलान्स केश्वानीले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । यूएईका बसिल हमेदले ५१ रन बनाएका थिए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२-४ को अवस्थाबाट यी दुईले पाचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए । कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे ।

नेपालका करण केसीले तीन विकेट लिए । करणले चार ओभरको स्पेलमा १९ रन खर्चिए । गुल्सन झाले दुई विकेट लिँदा अभिनाश बोहरा र सोमपाल कामीले समान एक विकेट लिए । आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीअनुरूप जारी प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।  नेपालले अब २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । यस्तै, नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।