Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सरकारलाई महिला अधिकार मञ्चको चेतावनीः माग पूरा नभए सत्याग्रह (फोटो/भिडियो)

काठमाडौं । महिला अधिकार मञ्चले  समयमा आफ्ना मागहरु पूरा नगरे सत्याग्रहमा जाने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत् मञ्चले सरकारले अबिलम्व रूपमा मागहरु पूरा गरी आमनागरिकमा न्यायको प्रत्याभूति गर्न आग्रह गर्दै खबरदारी गरेको हो ।

Rubi Khan .jpg

समुदायबाट पनि राज्यबाट पनि महिला सुरक्षित नभएको र महिलाको मानव अधिकार उल्लंघन भइरहेको पटक पटकका घटनाक्रमले देखाइरहेको उनीहरुको भनाई छ ।  निर्मला कुर्मी, निर्मला पन्त, नन्कुन्नी धोबी तथा जल्दोबल्दो उदाहरण आरती शाहको न्यायको आन्दोलनको आज १२४ दिन भइसक्दा समेत सरकारको तर्फबाट कुनै पनि चासो नलिनुले राज्यको दृष्टिकोणमा महिलाको हैसियत कहा छ प्रष्ट देखिएको मञ्चले जनाएको छ । 

Photo (6).jpg

मञ्चका अनुसार राज्य एकपल्ट होइन बारम्बार महिला मानव अधिकारप्रति  असंवेदनशील रहेको पुष्टि भएको छ । आरती शाहको न्यायका लागि आन्दोलनरत बहिनी मनिषा शाहको यौनाङ्गमा राज्यका बुट बजारिने, पढाई स्थगित हुने,। दाईको पढाई छुट्ने, आमा बाबासहित १२४ दिनदेखि माइतीघर हुँदै काठमाडौका गल्ली गल्लीमा न्यायका भीख माग्नु पर्ने अवस्थाले नागरिकप्रति राज्य संवेदनशील नरहेको प्रष्ट हुने मञ्चले उल्लेख गरेको छ।

Manisha Shah .jpg

यसरी पटकपटक महिलाहरुको, आमनागरिकको मानव अधिकार उलंघनका घटनाहरु दोहोरिइरहँदा पनि सरकारका तर्फबाट सम्बन्धित पदाधिकारीहरुलाई कारबाही नहुँदा सरकार स्वयं मानव अधिकार उलंघनको पक्षपोषणमा लागेको मञ्चको ठहर छ ।

Photo (10).jpg

मञ्चले आरती शाहको न्यायका लागि गरिएका न्यायिक मागहरु तत्काल पूरा गर्न माग गरेको छ । न्यायिक छानविन समिति गठन गरी धनुषा जिल्लाका जिल्ला प्रहरी कार्यालयका एसपी तथा डीएसपीलाई कारबाही गर्न माग गरेको छ ।

Photo (3).jpg

यसैगरी, निर्मला कुर्मीको हत्या मुद्दा हालसम्म पनि अदालत नपुर्याइएको भन्दै समयमै पुर्याउन माग गरिएको छ । यस्तै, मञ्चले स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोबिन्द केसीको माग तत्काल पूरा गर्नसमेत माग गरेको छ ।

भिडियो: