Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

काठमाडौंमा खसीबोका र च्यांग्राको मूल्य कति?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले सोमबारसम्म खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आएको र मंगलबार (आज)देखि बिक्री गरिने जानकारी दिइन् ।  यसैबीच, लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ । च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्। 

धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा बिहान काठमाडौं ल्याउने र दिउँसोदेखि नै बिक्री शुरु गरिने कम्पनीले जनाएको हो। खसी, बोका र च्याङ्ग्रा थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिक्री गरिनेछ। कम्पनीले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ।

बजारमूल्य भन्दा प्रति किलोमा १० रुपैंया छुट दिएर बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीका अनुसार अहिलेसम्म ३०० खसीबोका आइसकेका छन् भने अरु आउने क्रममा छन्। सोमबार कार्यालय समय शुरु भएपछि मूल्य तोकिने र त्यसपछि बिक्री गर्ने उनले बताइन्।

यता पशुसेवा विभागले खसीबोका र च्याङग्रालगायतको पशुको स्वास्थ्य परीक्षण र प्रमाणिकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरेको जनाएको छ । टोलीले नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको छ।

कलंकी खसी बजार, बल्खु कालिमाटी माछाबजार, चोभारनाका र चाल्नाखेल राँगा बजार, टुकुचा खसीबार र खाद्यस्थित थापाथलीमा टोली परिचालन गरेको विभागले जनाएको छ। यस्तै लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित छन्।

विभागले स्वस्थकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ।