Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कोसीको राजनीतिक संकट टर्‍यो: नवनियुक्त मुख्यमन्त्री कार्की

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तत्कालका लागि प्रदेशको संकट टरेको बताएका छन् । उनले प्रदेशमा मध्यावधि चुनावमार्फत राष्ट्रको ढुकुटी खर्च हुने चिन्ता टरेको घोषणा गरे ।

नेकपा (एमाले)का सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आज दुई मन्त्री नियुक्त गर्दै शपथ खाएका छन् । कार्कीले विश्वासको मत नपाए प्रदेशमा मध्यावधि घोषणा गर्नुपर्ने हुन्छ । “प्रदेशको राजनीतिक संकट तत्कालका समाधान भएको छ । प्रदेशसभा विघटन हुन्छ कि, प्रदेश मध्यावधिमा जान्छ कि, राज्यको ढुकुटी बीचैमा खर्च हुन्छ कि भन्ने जो चिन्ता थियो, प्रदेशवासीलाई त्यो अहिले समाप्त भएको छ,” मुख्यमन्त्री कार्कीले भने, “अर्को यहीँभित्र उठेका सामाजिक, सांस्कृतिक र अरु विषयहरु छन् । ती विषयहरु हामी गम्भीरतापूर्वक, वार्ताद्वारा, सहमतिद्वारा प्रदेशको सद्भाव र समृद्धिका लागि टुंग्याउन हामी चाँडै छलफल थालेर निकासका लागि काम गर्नेछौँ ।”

उनले प्रदेश सरकारको प्राथमिकतामा भौतिक विकास मात्र नभएर मानवीय विकास पनि पर्ने बताए ।