Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कोसीका मुख्यमन्त्री कार्कीलाई ओलीले भने– राम्रो काम गर्नू

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै पुगेर उनले ओलीसित भेट गरे । भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए ।त्यसक्रममा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए । राम्रो काम गर्न ओलीले कार्कीलाई आग्रह गरेको आचार्यले जानकारी दिए । “हामी जाम परेका कारण ढिला पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो,” उनले भने, “ओलीजीले राम्रो काम गर्नू भन्नुभयो ।”

सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसका नेता शेखर कोइरालापक्षीय आठ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइरालासित भेटवार्ता गरेका थिए ।