मुगुमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चानलमा आएसँगै सुपथ मूल्यको चामल खरिद गर्नेको भिड लागेको छ । थोरै भएपनि छुट मूल्यमा चामल खरिद गर्न पाएपछि स्थानियहरूले राहतको महसुस भएको बताएका छन् ।
मुगु शाखामा सोनामनसुली, जिरा मसिनो चामल,अरुवा मध्यम र अरुवा मोटा चामल उपलब्ध सहित सहुलियत सुपथ मूल्यपसल सञ्चालन भयको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुका प्रमुख पुस्कर भामले जानकारी दिए ।

कम्पनीका अन्य स्टलहरूमा चामलका साथै अन्य दैनिक उपभोग्य वस्तुहरूमा छुट सहित विक्री व्यापार हुनेभएपनि मुगु शाखामा सोना मनसुली, जिरा मसिनो चामल,अरुवा मध्यम र अरुवा मोटा चामल मा प्रति केजी ७ रुपैयाँ छुट मूल्यका दरले जनताहरूले छुट पाउने उनले बताए ।
सुपथमूल्य पसल सञ्चालनका लागी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाले यसवर्ष १५ सय क्युन्टल चामल पाएको छ । यो गत वर्षको भन्दा ५ सय क्युन्टल बढी हो ।

आइतबार एक औपचारिक कार्यक्रम गर्दै नेपाल खाद्य तथा व्यापार कम्पनीको मुगु शाखाले पनि चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा ल्याएको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपालीहरूको नजिकिँदै गरेको चाडपर्व लक्षित सुपथ मूल्य, छुट पसल देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको छ ।
सहुलियत सुपथ मूल्य पसल असोज २१ गते देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने छ ।