Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

होटलमा बाल मजुदरको प्रयोग नगर्न निर्देशन

मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको हो ।

केही होटलमा बालमजदुरको प्रयोग गरेको पाइएकाले सञ्चालकलाई होटलमा कामदारका रूपमा बालबालिका नराख्न सचेत गराइएको छ । त्यस्तै किराना पसल तथा होटलको अनुगमनका क्रममा व्यवसायीले म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण गरेको समेत भेटिएको अनुगमन समितिका संयोजक समेत रहेकी शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

‘चाडबाड नजिकिँदै गर्दा बजार क्षेत्रमा म्याद गुज्रेका तथा अखाद्यवस्तु बिक्री–वितरण हुनसक्ने भएकाले गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको हो’, उनले भनिन्, ‘नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलको अनुगमन गरिएको हो ।’ गाउँपालिकाको वडा नं २ र ३ को मनकामना बजारको अनुगमनका क्रममा अधिकांश होटलले मूल्यसूची नराखेको, व्यवसाय वडामा दर्ता नगरी सञ्चालन गरेको भेटिएको उपाध्यक्ष तिवारीले जानकारी दिइन् । त्यस्तै होटल तथा किराना पसलमा म्याद गुज्रिएको पेयपदार्थ कोक, फ्रुटी, फेन्टा, बियरलगायत भेटिएको उनले बताइन् ।

मूल्यसूची नराखेका व्यवसायीलाई मूल्यसूची राख्न अनुगमनका क्रममा निर्देशन दिइएको छ । उनले अटेर गरे कारबाही गरिने बताइन् । उपाध्यक्ष तिवारीको नेतृत्वमा गरिएको अनुगमनका पालिका कर्मचारी, पत्रकार, स्थानीयवासीसमेतको सहभागिता रहेको थियो । गाउँपालिकाले शुक्रबारदेखि पालिकाभित्रका बजार अनुगमनलाई तीव्र पारेको छ ।

पालुङटारमा एकै दिन दुईवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालन

गोरखाको पालुुङटार नगरपालिकामा थप दुईवटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नगरपालिकाभित्र आधारभूत स्वास्थ्य सेवाको सहज सुविधा पुग्न नसकेका क्षेत्रका नागरिकमा सहज स्वास्थ्योपचार सेवा पुर्याउन शनिबार एकै दिन दुईवटा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए ।

नगरवासीका घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले वडा नं २ को चापाभन्ज्याङ र वडा नं ३ को डुम्रेडाँडामा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको उनले बताए । ‘स्वास्थ्य चौकी र अस्पतालसम्म आइपुग्न समस्या रहेका ठाउँको पहिचान गरी केन्द्र स्थापना गरिएको हो, आधारभूत स्वास्थ्य सेवामा सहज सुविधा पुर्याउन नगरपालिकाले काम गरिरहेको छ’, उनले भने ।
केन्द्र सञ्चालनमा आएपछि अबदेखि त्यस क्षेत्रका जनतालाई स्वास्थ्योपचारमा सजिलो हुने उनले बताए ।

सहरी केन्द्रबाट नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषणलगायतका स्वास्थ्य सेवा प्रदान गरिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख सिर्जना पोखरेलले जानकारी दिए । स्वास्थ्य केन्द्रमा दुई स्वास्थ्यकर्मीसहित तीन जना कर्मचारी रहने उनको भनाइ छ । ‘केन्द्रमा एक अहेव, एक अनमी र कार्यालय सहायकको दरबन्दीको व्यवस्था गरिएको छ, नागरिकलाई केन्द्रबाट सबैखालका आधारभूत स्वास्थ सेवा उपलब्ध गराइन्छ’, उनले भने ।

चापाभञ्ज्याङ र डुम्रेडाँडा आसपासका जनताले सामान्य उपचारका लागि पनि धाएरै जानुपर्ने बाध्यता रहेको थियो । नजिकको स्वास्थ्य संस्थासम्म आधारभूत स्वास्थ्य सेवाका लागि पनि करिब एक घण्टासम्म धाएर पुग्नुपर्ने बाध्यता रहेको ती क्षेत्रका बासिन्दालाई केन्द्र सञ्चालनमा आएसँगै स्वास्थ्योपचारका लागि सहज हुने उनको भनाइ छ । यसअघि पाँच सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका थिए, थप दुईवटा नयाँ केन्द्र सञ्चालनमा ल्याएसँगै अब नगरपालिकाभित्र रहेको सहरी स्वास्थ्य केन्द्र सात पुगेको छ ।