आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित हात पारेको छ ।
ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याटर रचिन रवीन्द्रको शतकको मद्दतमा न्युजिल्यान्डले फराकिलो जित निकालेको हो । जितको लागि २८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कन्वे १२१ बलमा १९ चौका र ३ छक्कासहित १५२ रनमा अविजित रहे ।
अर्का युवा अलराउन्डर रवीवन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १२३ रनमा अविजित नै रहे । ओपनर विल योङ शून्यमै आउट भएका थिए । इंग्ल्यान्डका साम करनले उनलाई आउट गराएका थिए ।
यसअघि भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २८२ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि जो रुटले अर्धशतकीय पारी खेल्दै ७७ सर्वाधिक रन बनाए । यस्तै, कप्तान जोस बटलरले ४३, जोनी बेरिस्टोले ३३ र ह्यारी ब्रुकले २५ रन जोडे । न्युजिल्यान्डका म्याट हेनरीले सर्वाधिक ३ विकेट लिए ।