Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

चित्रबहादुर केसीको प्रश्न: ओलीले दुई घण्टा बोल्दा नयाँ कुरा के आयो?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखहरूलाई संसद् बैठकमा जति मन लाग्छ, त्यति बोल्ने समय दिने व्यवस्था गलत भएको बताएका छन् । उनले त्यस्तो नियमबारे संसद्ले सोच्नुपर्ने बताए ।

आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले भने, ‘मैले यहाँ बोल्नुपर्ने कुरा धेरै छन् मनमा, तर समय थोरै छ । मैले पहिले पनि कुरा उठाएको थिएँ, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखहरूलाई जति बोल्न मन लाग्छ, उति बोल्न दिन मिल्छ ? अरू सबै यहाँ त्यही सुन्न मात्रै आएको हो ? दुई घण्टा बोल्दा नयाँ कुरा के आयो उहाँबाट ? त्यसकारण यसबारे सोच्नुपर्छ ।’

प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबारको बैठकमा झन्डै २ घण्टा भाषण गरेका थिए । उनले सरकारको कामकारबाही र प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमणको आलोचना गरेका थिए ।

केसीले फौजदारी अपराध गर्नेहरूलाई सत्ताधारीको सिफारिसमा विभिन्न बहानाबाट राष्ट्रपतिबाट माफी दिने व्यवस्था समेत फेर्नुपर्ने बताए । ‘फौजदारी अपराध गर्नेहरूलाई मिनाहा दिएको कुरा अत्यन्तै गलत छ । राष्ट्रपतिज्यूले सत्ताधारीको सिफारिसमा जे आउँछ, त्यो मान्नुपर्छ भनेर विवशता प्रकट गर्नुभएको छ,’ उनले भने, ‘यदि कार्यकारीको सिफारिसले ज्यानमाराले मुक्ति पाउने हो भने अदालत किन चाहियो ?’

हेर्नुहोस् यो भिडीयो पनि: