Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

निर्वाहमुखी कृषि प्रणाली परिर्वतन नभएसम्म विकास सम्भव छैन्: डा. स्वर्णिम वाग्ले

काठमाडौं । सांसद तथा अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेले, निर्वाहमुखी कृषि प्रणालीबाट परिर्वतन नभएसम्म विकास सम्भव नभएको बताएका छन् ।

‘नेपालको आर्थिक कूटनीतिको भूत र भविष्य’ विषयक अन्र्तक्रियामा उनले नेपालमा अझै पनि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्र उत्पादनमुखी र आशा बोकेको क्षेत्र भएपनि यसलाई आधुनिकीकरण गर्न नसकिएको बताए । उनले वर्षभरी काम गरेर खान नपुग्ने कृषि प्रणाली छोडेर नयाँ तर उत्पादनमुखी कृषि प्रणाली अवलम्बन गर्न सके मात्र विकास सम्भव हुने धारणा राखे ।

वाग्लेले भने, ‘कृषिको २४ प्रतिशतको हिस्सा घट्नुपर्छ भन्छु म,घट्छ पनि । तर, उत्पादकत्व चाँहि बढ्नुपर्यो । कृषि क्षेत्रको अंश घटिरहेको छ । किनकि त्यो निर्वाहमुखी कृषिबाट हामी सबै भागेका हौं । १६, १७ घण्टा काम गर्दा पनि बल्लबल्ल दुई छाक खान सक्ने कृषिबाट भागेका हौं र भाग्नै पर्छ । नभए विकास नै हुँदैन । तर, यसको ठाउँमा थोरै इनपुटले पनि धेरै आउने खालको उच्च उत्पादन हुने कृषिमा हामी जानुपर्छ ।’

Swarnim.jpg

उनले कृषि मात्रै नभएर उद्योगको योगदानलाई पनि दश देखि १२ प्रतिशत सम्म पुर्याउन सकिने धारणा राखेका छन् । साथै उनले ग्रिन इनर्जिको क्षेत्रमा नेपालमा सम्भावना देखिएको भन्दै त्यसतर्फ थप अध्ययन गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको हकमा अब चाँही हामीले ग्रिन इनर्जिको बारेमा अध्ययन गर्नुपर्छ । मलाई लाग्छ बिसौँ सताब्दीको औद्योगिकरणको मोडलबारे कुनै सम्भावना नै थिएन नेपालको । अब चाँही जलवायु परिवर्तनले गर्दा विश्व नै कार्वन उत्सर्जनलाई न्यूनिकरण गर्नेमा लागेकाले हाम्रो लागि केही नयाँ सम्भावना ग्रिन इनर्जिको क्षेत्रमा देखिन्छ,’ वाग्लेले भने ।

सांसद वाग्लेले नेपालको पर्यटनमा ठूलो सम्भावना रहेको भन्दै हाल यो क्षेत्रको ११ प्रतिशतको योगदानलाई बढाएर २५ प्रतिशत सम्म पुर्याउनुपर्नेमा जोड दिए । तर, नेपालमा आउने पर्यटकको बसाई लम्ब्याउने र उनीहरुले खर्च गर्ने क्षमतामा वृद्धि गराउन योजनावद्ध रुपमा काम गर्नुपर्ने उनको भनाई छ ।