Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सिंहदरबारभित्र गृहमन्त्रीसँग आइजिपी बर्खास्तको माग, बाहिर गृहमन्त्रीकै राजीनामा माग

कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा बिहीबार दुई टोली युवा समूहले फरक–फरक माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गरेका छन् । सिंहदरबारभित्र गृहमन्त्रालयमा गई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाउँदै उनीहरुले जनताको सुरक्षा दिन नसक्ने प्रहरी नेतृत्व खनालको राजीनामा मागेका हुन्।प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् । सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्न गर्नु पर्ने उल्लेख गरेको छ ।निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग गरिएको अखिलका नेता आरसी लामिछानेले बताए ।उनीहरूले निर्मला हत्याकाण्डको छानविन समितिले निलेको निष्कर्ष सार्वजनिक गर्न समेत माग गरेका छन् ।उता, निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै कयौं युवायुवतीले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्दै गृहमन्त्रीकै राजीनामा माग गरेका छन् । निषेधाज्ञा तोड्दै उनीहरुले गेटअगाडि केहीबेर धर्नासमेत दिए ।