प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल-भारत सम्बन्ध, संसदीय कूटनीति तथा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको हो ।
भेटका क्रममा सभामुख अर्यालले हालै सम्पन्न निर्वाचनमा भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल-भारत सम्बन्ध साझा इतिहास, संस्कृति, भौगोलिक निकटता र जनस्तरको सम्बन्धमा आधारित रहेको बताए । उनले व्यापार, ऊर्जा, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य अझ सुदृढ हुँदै गएको उल्लेख गरे ।
सभामुख अर्यालले थप हवाई, रेल तथा बस सेवा विस्तारले दुई देशबीचको आवतजावत र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । साथै, भारतीय लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको जानकारी दिँदै उपयुक्त समयमा स्वागत गर्न नेपाल तयार रहेको बताए ।
उनले संसदीय कूटनीतिले दुवै देशका सांसदबीच अनुभव आदानप्रदान, आपसी समझदारी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली र प्रविधिमैत्री अभ्यासबाट नेपालले पनि लाभ लिन चाहेको बताए ।
राजदूत श्रीवास्तवले भारतीय लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी दिँदै नेपाली सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययनका लागि भ्रमणको निमन्त्रणा दिए । उनले व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।