जारी फिफा विश्वकप फुटबलको समूह ‘एल’ मा अन्तिम चरणका खेल आज राति हुदैछन् । नेपाली समय अनुसार राति २: ४५ बजेदेखि शुरु हुने खेलमा इंग्ल्यान्ड र पनामा तथा क्रोसिया र घाना आमने सामने हुदैछन् ।
अघि शीर्ष स्थान र नकआउट यात्राको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। इंग्ल्यान्ड र घाना समान ४-४ अंकसहित शीर्ष दुई स्थानमा छन् भने क्रोएसियाको ३ अंक छ । लगातार दुई हार बेहोरेको पनामा भने अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलको नतिजा जे भएपनि इंग्ल्यान्ड र घाना नकआउट चरणमा पुगिसकेका छन् । अन्तिम खेलले समुहको कुन स्थानमा रहने र नकआउटमा कुन प्रतिद्वन्दी पाउने भन्ने निर्णय गर्ने छ ।
इंग्ल्यान्डले पहिलो खेलमा क्रोएसियालाई ४-२ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा घानाविरुद्ध गोलरहित बराबरी खेले पनि टोली समूहको शीर्ष स्थानमा कायम छ । प्रशिक्षक थोमस टुचेलको टोलीले पनामालाई हराएमा समूह विजेता बन्ने सम्भावना बलियो हुनेछ । यदि घानाले क्रोएसियालाई हराउन सकेन भने इंग्ल्यान्ड शीर्ष स्थानमै रहनेछ । तर इंग्ल्यान्ड चुक्यो भने नकआउट चरणमा कठिन प्रतिद्वन्द्वी सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
पनामाका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ। टोली लगातार घाना र क्रोएसियासँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । विश्वकप इतिहासमा लगातार पहिलो पाँच खेल हार्ने छैटौं राष्ट्र बनेको पनामा यसपटक पनि पहिलो अंकको खोजीमा हुनेछ । सन् २०१८ को विश्वकपमा इंग्ल्यान्डले पनामालाई ६-१ ले हराएको थियो । त्यस खेलमा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका थिए भने जोन स्टोन्सले दुई गोल गरेका थिए ।
त्यस्तै समूहको सबैभन्दा महत्वपूर्ण खेल घाना र क्रोएसियाबीच हुनेछ । क्रोएसिया पहिलो खेलमा इंग्ल्यान्डसँग ४-२ ले पराजित भएको थियो । दोस्रो खेलमा भने आन्ते बुडिमिरको निर्णायक गोलमा पनामालाई १-० ले हराउँदै नकआउट सम्भावना जीवित राखेको छ । ३४ वर्ष ३३६ दिनका बुडिमिर विश्वकपमा गोल गर्ने क्रोएसियाका सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । कप्तान लुका मोड्रिचले पनि आफ्नो २१औं विश्वकप खेल खेल्दै अर्को कीर्तिमान थपेका छन् ।
यद्यपि पनामाविरुद्ध जित निकाले पनि क्रोएसियाले केवल ६ प्रहार गरेको थियो, जसमा दुई मात्रै लक्ष्यमा थिए । विश्वकपमा जित निकालेको खेलमध्ये यो उसको सबैभन्दा कम आक्रमणात्मक प्रदर्शनमध्ये एक थियो ।
यता घानाले पहिलो खेलमा पनामालाई १-० ले हराएको थियो भने दोस्रो खेलमा इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । लगातार दुई खेलमा क्लिन सिट राखेको घाना उत्कृष्ट लयमा देखिएको छ ।
अन्तिम ३२ मा पुग्ने सम्भावना हेर्दा इंग्ल्यान्डले पनामालाई हराए समूह विजेता बन्ने सम्भावना अत्यधिक रहनेछ । बराबरी वा हारले भने घानाको नतिजामा निर्भर रहनुपर्ने देखिन्छ । त्यस्तै घानाले बराबरी गरे पनि अन्तिम ३२ मा पुग्नेछ । तर समूह विजेता बन्न क्रोएसियालाई हराउनु आवश्यक पर्ने देखिन्छ । त्यसैगरी क्रोएसियाले अन्तिम ३२ मा पुग्न घानालाई हराउनै पर्ने दबाबमा छ । हार वा बराबरीले उसको यात्रा उत्कृष्ट तेस्रो स्थानमा पर्ने अन्य टोलीको नतिजामा निर्भर हुनेछ ।