Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

प्रतिनिधि अपेक्षाभन्दा बढी भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताएका छन् । 

मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् । 

चितवनको भरतपुरमा जारी महाधिवेशनका कार्यक्रम तालिकाभन्दा ढिलो अघि बढेपछी प्रवक्ता झाले बन्दसत्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै व्यवस्थापनका कारण महाधिवेशन एक दिन थपिन सक्ने संकेत गरेका छन्।

उनका अनुसार प्रतिनिधि दर्ता, नामावली व्यवस्थापन र किट वितरणजस्ता प्राविधिक तयारी समयमै पूरा नहुँदा बन्दसत्र ढिलो सुरु भएको हो। उनले सबै प्रक्रिया पूरा गरेर आजैदेखि बन्दसत्र अघि बढाइएको बताए।

झाले भने, ‘प्रतिनिधि संख्या अपेक्षाभन्दा बढी भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। करिब पाँच सयभन्दा बढी प्रतिनिधि थपिएपछि नामावली अद्यावधिक, दाबी–विरोध प्रक्रिया र सामग्री व्यवस्थापनमा समय लागेको हो।’

उनले संगठन निर्माण सबै प्रदेशमा समान रूपमा नपुगेको कारण पनि समस्या देखिएको बताए। विशेषगरी केही प्रदेशमा संगठन विस्तार ढिलो भएकाले प्रतिनिधि सूचीमा छुट–पुट भएको उनले स्वीकार गरे।

समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले ३३ प्रतिशत आरक्षण, सभापतिलाई २०० प्रतिनिधि थप्ने अधिकार र समायोजन समितिबाट थप १०० देखि १५० प्रतिनिधि समावेश गर्ने व्यवस्था गरेको पनि उनले जानकारी दिए।

उनले भने, ‘हामी सिक्दै छौँ, कतिपय कुरा अपेक्षाभन्दा फरक भए पनि सबैलाई समेट्ने प्रयास भइरहेको छ।’

उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले लामो समय, खर्च र मेहनत गरेर आएको भन्दै उनीहरूको असन्तुष्टि स्वाभाविक भएको टिप्पणी गरे। साथै, व्यवस्थापनको कारण कार्यक्रम केही लम्बिन सक्ने अवस्था रहेको पनि उनले स्पष्ट पारे।