अमेरिका र कतारले इरानका रोक्का गरिएको अर्बौँ डलर बराबरको रकम मानवीय सहायता प्रयोजनका लागि उपलब्ध गराउने योजना अघि बढाइरहेका छन् ।
वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार यस प्रस्तावअन्तर्गत प्रारम्भिक चरणमा कतारमा राखिएको करिब ६ अर्ब अमेरिकी डलरसम्मको कोषमा इरानलाई पहुँच दिने तयारी भइरहेको छ ।
यो रकम इरानको केन्द्रीय बैंकले खाद्यान्न, औषधि तथा अन्य मानवीय आवश्यकताका सामग्री खरिद गर्न प्रयोग गर्न सक्नेछ । साथै उक्त कोषको प्रयोग अन्तर्राष्ट्रिय निगरानीमा हुने भएकाले तोकिएका मानवीय उद्देश्यबाहेक अन्यत्र प्रयोग गर्न नपाइने व्यवस्था गरिने बताइएको छ ।
यद्यपि यो योजना अझै प्रारम्भिक चरणमै रहेको र इरानले यसबारे अन्तिम सहमति नदिएको जनाइएको छ । इरानको सरकारी समाचार संस्था इरनाका अनुसार स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच प्राविधिक तहको वार्ता सम्पन्न भएको छ । अब आगामी चरणका लागि चार वटा छुट्टाछुट्टै कार्यदल गठन गरिनेछ ।
यी कार्यदलहरूको उद्देश्य अमेरिका र इरानबीच अन्तिम सम्झौताको आधार तयार गर्नु रहेको बताइएको छ । इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीका अनुसार कार्यदलहरूले प्रतिबन्ध हटाउने, आणविक कार्यक्रम, देशको पुनर्निर्माण तथा आर्थिक विकास, र सम्झौताको कार्यान्वयन तथा निगरानीका विषयमा काम गर्नेछन् ।
यता इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँग भएको समझदारीपछि रोक्का गरिएको इरानी कोष खुला हुनु देशका लागि ठूलो उपलब्धि भएको बताएका छन् ।
उनका अनुसार समझदारीको धारा ११ अन्तर्गत ६-६ अर्ब डलरका दुई छुट्टाछुट्टै रकम इरानले प्राप्त गर्नेछ । यसको प्रारम्भिक तयारी कतार भ्रमणका क्रममा भएको थियो भने अन्तिम स्वीकृति स्विट्जरल्यान्डमा दिइएको हो ।
गालिबाफले धारा १० अन्तर्गत तेल, पेट्रोरसायन उत्पादन, बैंकिङ, बीमा र यातायात क्षेत्रसँग सम्बन्धित प्रतिबन्धहरूमा पनि अन्तिम सम्झौता नभएसम्मका लागि सहुलियत प्रदान गरिएको जानकारी दिए । उनले यी दुवै निर्णयलाई समझदारीको पहिलो ठूलो उपलब्धि भएको बताउँदै इरानले यसलाई प्रारम्भिक विजयका रूपमा हेरिरहेको बताएका छन् ।