अर्जेन्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका छन्।
समूह चरणअन्तर्गत अष्ट्रियाविरुद्धको खेलमा ३८औँ मिनेटमा गोल गर्दै मेस्सीले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमानलाई पछि पारेका हुन्। यससँगै विश्वकपमा मेस्सीको कुल गोल संख्या १७ पुगेको छ।
यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए। अष्ट्रियाविरुद्ध गोल गरेसँगै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा नयाँ इतिहास रचेका छन्।
खेलको चौथो मिनेटमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। अष्ट्रियाली खेलाडीको फाउलपछि प्राप्त पेनाल्टी प्रहार गर्न आएका मेस्सीको प्रयास भने पोस्टबाहिर गएको थियो। तर, उनले ३८औँ मिनेटमा गोल गर्दै आफ्नो नाममा अर्को ऐतिहासिक उपलब्धि थप्न सफल भए।
३८ वर्षका मेस्सीले यसअघि लगातार छ वटा विश्वकप खेल्ने पहिलो खेलाडी, विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी तथा सर्वाधिक मिनेट मैदानमा बिताउने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाइसकेका छन्।