कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै अर्जेन्टिनालाई अन्तिम ३२ मा पुर्याएका छन् ।
समूह ‘जे’ अन्तर्गत गएराती सम्पन्न अस्ट्रियाविरुद्ध २-० को जित निकाल्ने क्रममा मेसीले दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका हुन् । यससँगै उनले सन् २००२ देखि २०१४ सम्म जर्मनीका मिरोस्लाभ क्लोजेले बनाएको १६ गोलको कीर्तिमान तोडेका छन् ।
बुधबार ३९ वर्ष पुग्न लागेका मेस्सीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरेका थिए । थियागो अल्माडाले चतुर ढंगले बल छाडेपछि फाकुन्डो मेडिनाको पासलाई उनले पेनाल्टी क्षेत्रभित्रबाट पहिलो स्पर्शमै जाली चुमाएका थिए । उनको दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा आयो । जुलियन अल्भारेजको प्रयास अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर स्लागरले रोकेपछि फर्किएको बलमा मेस्सीले साँघुरो कोणबाट दुई रक्षकलाई छल्दै गोल गरेका थिए ।
यद्यपि, मेसीसँग खेलको सुरुमै कीर्तिमान बनाउने अवसर थियो । खेलको आठौँ मिनेटमा स्टेफन पोस्चले लाउटारो मार्टिनेजमाथि फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । त्यसक्रममा जाभेर स्लागर पनि चुनौती दिन पुगेका थिए । तर, मेसीको प्रहार पोस्ट बाहिर गएको थियो । त्यसपछि भने उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक रातलाई सम्झनलायक बनाए ।
अल्जेरियामाथि पहिलो खेलमा ३-० को जित निकाल्दा ह्याट्रिक गरेका मेसीले दुई खेलमा पाँच गोल गर्दै सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।
मेसीको दोस्रो गोलअघि अस्ट्रियाले खेल बराबरी गर्ने अवसर पाएको थियो । तर, आफ्नो एक सयौँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मार्सेल साबिट्जरको शक्तिशाली फ्रिकिकलाई अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गरेका थिए ।
लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक जोडेको छ । यससँगै मेक्सिको, संयुक्त राज्य अमेरिका र जर्मनीसँगै अर्जेन्टिना अन्तिम ३२ मा प्रवेश गरेको छ ।
समूह ‘जे’ को अर्को खेलमा जोर्डनले अल्जेरियालाई पराजित गर्न नसके अर्जेन्टिना समूह विजेता बन्नेछ । पहिलो खेलमा जोर्डनलाई हराएको अस्ट्रिया भने तीन अंकसहित अझै पनि अर्को चरण प्रवेशको प्रतिस्पर्धामा कायम छ ।