Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

एम्बाप्पे र डेम्बेलेको गोलमा इराकमाथि फ्रान्सको सहज जित

कप्तान केलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा संयुक्त रूपमा दोस्रो सर्वाधिक गोलकर्ता बनेपछि फ्रान्सले मौसमका कारण प्रभावित खेलमा इराकलाई सहजै पराजित गरेको छ ।

समूह ‘आई’ अन्तर्गत भएको खेलमा फ्रान्सले इराकमाथि ३-० गोल अन्तरको जित दर्ता गरेको हो । एम्बाप्पेले दुवै हाफको सुरुआती समयमा गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका छन् । उनी अब केही घण्टाअघि कीर्तिमान बनाएका लियोनेल मेसीभन्दा दुई गोलले मात्र पछाडि छन् ।

यो खेल सन् २०२६ को विश्वकपमा खराब मौसमका कारण अवरुद्ध हुने पहिलो खेल बनेको छ । खेलस्थल वरपर चट्याङ परेपछि दोस्रो हाफ पहिलो हाफ सकिएको दुई घण्टाभन्दा बढी समयपछि मात्र सुरु गरिएको थियो ।

यसअघि दिनभरको भारी वर्षाका कारण समर्थकहरूको फिलाडेल्फिया रङ्गशालामा प्रवेशमा पनि ढिलाइ भएको थियो । यद्यपि, खेल भने निर्धारित समयमै सुरु भएको थियो । फ्रान्सले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्‍यो र १४औँ मिनेटमा त्यसको प्रतिफल पायो । एम्बाप्पेले पेनाल्टी क्षेत्रको किनाराबाट गरेको शक्तिशाली बायाँ खुट्टाको प्रहार गोलमा परिणत भएको थियो ।

तर, पहिलो हाफको हाइड्रेसन ब्रेकपछि सन् २०१८ को विश्वविजेता फ्रान्सले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्‍यो । यसबीच चोटका कारण कप्तान तथा स्ट्राइकर आयमेन हुसेन मैदानबाट बाहिरिएपछि पनि इराकले लामो समय बल आफ्नो नियन्त्रणमा राख्न सफल भयो । लामो अवरोधपछि मैदान फर्किएको फ्रान्सले दोस्रो गोल उपहारस्वरूप पायो । इराकका गोलरक्षक अहमद बासिलले रक्षक जाइद तहसिनले छोटो पासमा दिएको गोलकिक नियन्त्रण गर्न नसक्दा उस्मान डेम्बेलेले एम्बाप्पेलाई सहज अवसर सिर्जना गरिदिएका थिए । त्यसपछि फ्रान्सले अग्रता अझै फराकिलो बनाउने अवसरहरू पनि पाएको थियो । एड्रियन राबियोटले स्पष्ट हेडरको अवसर गुमाए भने माइकल ओलिसेको आकर्षक प्रहार क्रसबारमा लागेको थियो । यद्यपि, डेम्बेलेले ओलिसेको उत्कृष्ट बाहिरी खुट्टाको पासलाई सदुपयोग गर्दै तेस्रो गोल गरेका थिए । यो फ्रान्सका लागि कुनै ठूलो प्रतियोगितामा उनको २०औँ खेलमा पहिलो गोल पनि हो ।

खेलको अन्तिम २० मिनेटमा इराकले दुई राम्रो अवसर सिर्जना गरेको थियो । जिदान इक्बालको कर्नरमा रेबिन सुलाकाको भली प्रहार माथिबाट बाहिरियो भने मार्को फार्जीको उत्कृष्ट क्रसमा अली अल हमादी बलसम्म पुग्न सकेनन् ।

अन्तिम समयमा एम्बाप्पेसँग ह्याट्रिक पूरा गर्ने अवसर पनि आएको थियो । तर, उनको बायाँ खुट्टाको प्रहार माथिबाट बाहिरियो ।

लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्य राखेको फ्रान्स ६ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा पुगेको छ भने इराक अंकविहीन रहँदै पुछारमा रहेको छ ।