Jun 20 2026

Jun 20 2026 | शनिवार, आषाढ ६ गते २०८३

पोखरा बसपार्कको कम्प्लेक्सका ३२० सटरकबल हटाइयो

पोखरा बसपार्क निर्माणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स हटाएको छ ।

शनिवार कम्प्लेक्समा रहेका ३२० वटा सटरकबलहरु हटाइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले त्यस स्थानमा रहेका सबै शटरकबलहरु हटाइएको बताए । 

यसअघि नगर प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवाद गरेका थिए । बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने  समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको नगर प्रमुख आचार्यले बताए । यस कार्यमा समन्वय गर्ने सबै सरोकारवालाहरू प्रति उनले आभार प्रकट गरेका छन् । 

बसपार्कका लागि अधिग्रहण गरिएको सवैक्षेत्रमा बसपार्क बनाउने गरी सुकुम्वासीहरूको व्यवस्थापन लगायतमा महानगरपालिका प्रतिवृद्धताका साथ लागिरहेको बताएको छ । 

महानगरले सुकुम्वासी बस्तीका ५७२ मध्ये ३३७ जनाको डकुमेन्ट भेरिफिकेसन सकिएको जनाएको छ । साथै महानगरले गलत वा झुट्टा विवरण दिएमा कानुनअनुसार कारबाही गरिने र सुकुम्वासी बस्ती व्यवस्थापन नगरी नहटाउने बताएको छ ।