Jun 18 2026

Jun 18 2026 | बिहिवार, आषाढ ४ गते २०८३

सरकारले कर्मचारी र संवैधानिक पदाधिकारीलाई धम्क्याएको विपक्षीको आरोप, मागे जवाफ

विपक्षी दलहरुले आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै जवाफ मागेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरुलाई आतंकित बनाउने काम भइरहेको भन्दै उनीहरुले त्यस्ता गतिविधि बन्द गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ, एमाले सांसद लक्ष्मी प्रसाद पोखरेल र नेकपा सांसद रमेश कुमार मल्लले यी विषयहरुमा प्रधानमन्त्रीको जवाफ मागेका छन् । साथै नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि उनीहरुले माग गरे ।

कांग्रेस सांसद केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई समेत धम्क्याउने काम भएको बताए।