अस्ट्रियाले विश्वकपमा ३६ वर्षपछि पहिलो जित दर्ता गर्दै प्रतियोगितामा पहिलो पटक सहभागी भएको जोर्डनलाई ३–१ ले पराजित गरेको छ।
अस्ट्रियाले सन् १९९० पछि विश्वकपको अन्तिम चरणमा पहिलो पटक जित हात पारेको हो । सान फ्रान्सिस्कोमा भएको खेलमा युरोपेली टोलीका लागि रोमानो स्मिडले २१औँ मिनेटमा शानदार गोल गर्दै अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै अली ओल्वानले आकर्षक घुमाउरो प्रहारमार्फत गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका थिए ।
त्यसपछि पूर्व स्टोक सिटी र वेस्ट ह्यामका फरवार्ड मार्को अर्नाउटोभिचले जोर्डनका गोलरक्षक याजिद अबुलैलाले कर्नर बल नियन्त्रण गर्न नसक्दा आएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए । तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि उक्त गोल रद्द गरियो । टेलिभिजन पुनरावलोकनमा बल स्टेफन पोस्चको हातमा लागेको देखिएपछि गोल अमान्य घोषित गरिएको थियो ।
यद्यपि, त्यसले अस्ट्रियाको लयमा असर पारेन । पूर्व म्यानचेस्टर युनाइटेड प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा रहेको टोलीले ७६औँ मिनेटमा पुनः अग्रता बनायो । कर्नरबाट आएको बल जोर्डनका डिफेन्डर याजन अल अरबले आफ्नै पोस्टमा छिराएपछि अस्ट्रिया २–१ ले अघि बढेको थियो । त्यसपछि इन्जुरी समयको १२औँ मिनेटमा सलीम ओबैदले ह्यान्डबल गरेपछि प्राप्त पेनाल्टीलाई अर्नाउटोभिचले गोलमा परिणत गर्दै अस्ट्रियाको जित सुनिश्चित गरे ।
अब अस्ट्रियाले सोमबार समूह चरणको दोस्रो खेलमा साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए । उक्त ह्याट्रिकसँगै मेस्सी विश्वकपको अन्तिम चरणमा १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमानसँग बराबरीमा पुगेका छन्। उनलाई एक गोलले सर्वाधिक गोलकर्ता बन्ने अवसर छ ।
विश्व वरीयताको ६७औँ स्थानमा रहेको जोर्डनले भने आफ्नो प्रदर्शनबाट सकारात्मक सन्देश दिएको छ । यद्यपि, अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन उसले अल्जेरियाविरुद्ध सकारात्मक नतिजा निकाल्नुपर्नेछ । त्यसपछि उसले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्नेछ ।
अस्ट्रिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको अन्तिम चरणमा पुगेको हो । साथै, सन् १९९० जुन १९ मा अमेरिकालाई २–१ ले पराजित गरेयता यो उसको विश्वकपमा पहिलो जित पनि हो ।