Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चीन भ्रमणमा सीमाको विषय उठाउन परराष्ट्रमन्त्रीलाई खुश्बु ओलीको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा नेपाल–भारत सीमा विवादको विषय औपचारिक रुपमा कहिँ नउठाएको आरोप लगाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले नेपालले निकालेको प्रेस नोटमा सीमा विवादबारे पछिल्ला ७-८ बर्षमा पहिलो पटक एक शब्द पनि उल्लेख नगरिएको उल्लेख गर्दै मन्त्री खनालले भारत भ्रमणमा सीमा बारे नबोलेको आरोप लगाएकी हुन् ।

उनले भ्रमण सकिएपछि दिल्लीमा परराष्ट्रमन्त्री खनालले बन्द कोठामा केहि कुरा उठाएको र काठमाडौं फर्किएपछि एउटा प्रेस नोट दिएको भए पनि त्यसमा पनि सीमाको विषयमा एक शब्द पनि उल्लेख नगरेको बताएकी छन् ।

त्यस्तै उनले परराष्ट्रमन्त्री खनालले संसदमा दिएको सीमा बारेको अभिव्यक्ति अस्वीकार गर्ने बताउदै परराष्ट्रमन्त्रीले सीमा व्यवस्थापनको मात्र कुरा गरेको तर नेपाली नक्शाको विषय फरक विषय भएको बताएकी छन् । उनले संसदमा पनि सीमा व्यवस्थापन र सीमा विवाद के हो भन्ने कुरा अध्ययन गर्न र बुझ्न जरुरी रहेको बताउदै अब चीन भ्रमणमा सीमाको विषय उठाउन आग्रह गरेकी छन् ।