फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् । बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए ।
उनले भने, ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो । तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु ।’ त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले फुटबलबारे आफूलाई धेरै जानकारी नभएको स्वीकार गर्दै खेलप्रति भने सकारात्मक रहेको बताए । उनले आफू फुटबलको ज्ञानभन्दा पनि राजनीतिको ज्ञानमा बढी चासो भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी रवि लामिछाने भएको बताए ।
उनले भने, ‘फुटबलको सन्दर्भमा म सबैको पक्षमा छु। धेरै ज्ञान त छैन, थाहा नभएको विषयमा धेरै बोल्नु पनि हुँदैन। केही खेलाडीहरूको नाम सुनेको छु । तर फुटबलको ज्ञानभन्दा राजनीतिको ज्ञानमा बढी चासो हुने भएकाले अहिलेको सबैभन्दा सुपरस्टार खेलाडी त रवि लामिछाने नै हुन् ।’
उता नेकपा एमालेका नेता ऐन महरले आफू लामो समयदेखि फुटबलप्रेमी रहेको बताउँदै विश्वकपका लागि सबै टोलीलाई शुभकामना व्यक्त गरे ।
उनले भने, ‘करिब २८ वर्षदेखि फुटबल हेर्दै आएको छु। यो मेरो अत्यन्त मनपर्ने खेल हो। अघिल्ला धेरै प्रतियोगिताका खेलहरू पनि सकेसम्म नछुटाई हेर्ने गरेको छु। सबै टोलीलाई शुभकामना दिन चाहन्छु ।’
महरले आफूले लामो समयदेखि ब्राजिललाई समर्थन गर्दै आएको उल्लेख गर्दै विश्व फुटबलका स्थापित खेलाडीहरूप्रति सम्मान व्यक्त गरे । उनले मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी भएकाले अहिले युवा खेलाडि लामिन यमालाई समर्थन गर्ने बताए ।
उनले भने, ‘मेरो समर्थन सधैं ब्राजिललाई नै रहन्छ । मेस्सी, रोनाल्डो र नेयमारजस्ता खेलाडीहरू आफ्नो समयका उत्कृष्ट खेलाडी हुन् । उहाँहरूले फुटबलमा ठूलो योगदान पुर्याउनुभएको छ । अहिले भने लामिन यमालले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यी सबै खेलाडीप्रति मेरो उच्च सम्मान छ ।’
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पनि आफ्नो समर्थन पोर्चुगललाई रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले रोनाल्डोलाई समर्थन गर्ने जनाएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘म त तयार भएँ । यसपालिको मेरो फेभरेट टिम पोर्चुगल रोनाल्डो ।’ फिफा विश्वकपलाई लिएर सर्वसाधारणदेखि राजनीतिक नेतृत्वसम्मको बढ्दो चासोले नेपालमा पनि फुटबलप्रतिको आकर्षण झन् बढ्दै गएको देखिन्छ । आयोजक मध्धेको एक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।