Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विश्वकपमा आफ्नो टिमविरुद्ध नाराबाजी भएमा खेल छोड्ने इरानको चेतावनी

इरानले फिफा विश्वकपका खेलका क्रममा आधिकारिक रूपमा स्वीकृत नभएका झण्डा प्रदर्शन भए वा राष्ट्रिय टिमविरुद्ध नारा लगाइए इरानी टिमले खेल नै रोक्न सक्ने चेतावनी दिएको छ । इरानका खेलकुदमन्त्री अहमद दुन्यामालीले यस्तो चेतावनी दिएका हुन् । 

इरान विश्वकपमा समूह ‘जी’ मा रहेको छ । उसले पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजील्याण्डसँग खेल्नेछ । जुन २१ मा सोही स्थानमा बेल्जियमसँग भिड्नेछ भने जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

इरानी सञ्चारमाध्यमका अनुसार मन्त्री दुन्यामालीले फिफालाई यसबारे जानकारी दिइसकेको बताउँदै यदि स्टेडियममा स्वीकृत नभएका झण्डा ल्याइए वा टोलीविरुद्ध नारा लगाइएमा खेल रोक्ने जिम्मा टिम व्यवस्थापनले लिने बताएका छन् । उनले इजिप्टविरुद्धको खेललाई लिएर कुनै पनि अवाञ्छित घटना नहुने आश्वासन प्राप्त भएको पनि बताएका छन् । यसअघि अप्रिलमा भ्यानकुभरमा फिफा कांग्रेस बाहिर प्रदर्शनकारीले इरानलाई विश्वकपबाट हटाउन माग गरिएको थियो । इजिप्टसँगको खेललाई लिएर एलजीबीटीक्यू सम्बन्धी गतिविधिबारे पनि विवाद उठेको थियो ।

यसैबीच, प्रतियोगिताअघि इरानी टिमले व्यवस्थापकीय समस्या पनि भोगिरहेको बताइएको छ । टिकट वितरण रद्द भएको, समर्थकहरूको यात्रा योजना प्रभावित भएको र भिसा तथा यात्रा सम्बन्धी कठिनाइ देखिएको बताइएको छ ।

अमेरिकी होमल्याण्ड सुरक्षा विभागले भने इरानी टिमलाई आफ्ना प्रत्येक खेलभन्दा एक दिनअघि मात्रै अमेरिका प्रवेश गर्न अनुमति दिइने जनाएको छ ।