राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा ई-कमर्स कारोबारका लागि थ्रीडी सेक्युर ACS (Access Control Server) सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले अनलाइन खरिद तथा भुक्तानी गर्दा थप सुरक्षित रूपमा कारोबार गर्न सक्ने भएका छन्।
बैंकका अनुसार 3D Secure ACS प्रणालीले ई-कमर्स कारोबारका क्रममा ग्राहकको पहिचान प्रमाणीकरण तथा ओटीपी (OTP) मार्फत अतिरिक्त सुरक्षा प्रदान गर्छ। यो सेवा प्रयोग गर्न कार्डधारकले आफ्नो कार्डमा एकपटक उक्त फिचर सक्रिय (Enable) गर्नुपर्नेछ। बैंकले यस कदमले बढ्दो अनलाइन कारोबारलाई सुरक्षित बनाउनुका साथै ग्राहकलाई डिजिटल भुक्तानीतर्फ थप आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।
एनसीएचएलले सञ्चालन गर्दै आएको NCHL-EFT सेवा अन्तर्गत ACS बाहेक विभिन्न नेटवर्क स्किमका कार्ड जारी गर्ने, कार्ड कारोबारको अधिग्रहण (Acquiring), प्रोसेसिङ तथा सेटलमेन्ट, ई–कमर्स पेमेन्ट गेटवे तथा कार्ड पर्सनलाइजेसनलगायत कार्डसम्बन्धी सेवा सदस्य बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकसहित एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकलगायतका बैंक तथा वित्तीय संस्थाका कार्डबाट एनसीएचएलको ACS समाधानमार्फत सुरक्षित ई–कमर्स कारोबार गर्न सकिने व्यवस्था रहेको छ।
डिजिटल बैंकिङ तथा अनलाइन भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको यो पहलले नेपालमा सुरक्षित ई–कमर्स प्रणाली विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।