Jun 10 2026

Jun 10 2026 | बुधवार, जेठ २७ गते २०८३

नेपालमा २९७ किमि प्रसारण लाइन निर्माण सुरु

मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समितिले एमसीसीअन्तर्गतको रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ भएको छ ।

अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा यो परियोजना अघि बढाइएको हो । यसले उच्चस्तरीय विद्युत् प्रसारण पूर्वाधार निर्माण गर्दै देशको ऊर्जा प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

यो परियोजनाअन्तर्गत तीन वटा ४०० केभी क्षमताका सबस्टेशन र करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन् । यसले राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई बलियो बनाउने, लाइन अवरोध घटाउने र घरायसी तथा औद्योगिक विद्युत् आपूर्तिलाई अझ भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।

यसैगरी, यो पूर्वाधारले नेपाललाई क्षेत्रीय विद्युत् बजारमा सक्रिय रूपमा सहभागी हुन सहयोग गर्ने पनि बताइएको छ । आज सुरु गरिएको २९७ किलोमिटर प्रसारण लाइन अन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली र नयाँ दमौली–नयाँ बुटवल खण्ड समावेश छन् ।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस परियोजनाले नेपालमा भरपर्दो बिजुली आपूर्ति सुनिश्चित गर्ने र उद्योग तथा कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न सहयोग गर्ने बताए । एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यसले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने धारणा राखेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो आयोजना राष्ट्रिय प्रसारण सञ्जाल विस्तारको महत्वपूर्ण हिस्सा भएको बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो परियोजना नेपालको ऊर्जा पूर्वाधार विकासमा कोशेढुंगा सावित हुने उल्लेख गरे ।

निर्माण कार्य चार वटा निर्माण कम्पनीमार्फत अघि बढाइनेछ । परियोजना सम्पन्न भएपछि यी सबस्टेशनहरू देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन् । यसले दीर्घकालीन ऊर्जा माग पूरा गर्न र आर्थिक वृद्धिलाई गति दिन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।