श्रमसंस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती ले प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्व शैलीप्रति टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत ‘सम्माननीय प्रधानमन्त्री बालेन शाहको बालापन !’ भन्दै किरातीले नेतृत्वको मूल्यांकन राजनीतिक सिद्धान्त र व्यवहारका आधारमा हुनुपर्ने बताएका छन्।
किरातीका अनुसार असल नेतृत्व व्यक्ति केन्द्रित नभई समस्या समाधान, संस्थागत प्रक्रिया र नीतिगत निर्णयमा केन्द्रित हुनुपर्छ। उनले जनताले नेतृत्वलाई संयमित, निष्पक्ष र जिम्मेवार रूपमा हेर्न चाहने उल्लेख गर्दै सार्वजनिक आलोचनाभन्दा स्पष्ट निर्देशन, संस्थागत निर्णय र आवश्यक कारबाहीमार्फत सन्देश दिनु परिपक्व नेतृत्वको विशेषता हुने धारणा व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेतृत्वको प्रभावकारिता भावनात्मक प्रतिक्रिया वा सार्वजनिक टिप्पणीबाट होइन, संस्थागत निर्णय र कार्यान्वयनबाट मापन हुन्छ।”
किरातीले आफ्नो अभिव्यक्तिप्रति प्रतिक्रिया आउन सक्ने संकेत गर्दै व्यंग्यात्मक शैलीमा “यति भन्ने आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु” भन्ने टिप्पणी समेत गरेका छन्।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहका सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत व्यक्त विचारलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा बहस भइरहेका बेला किरातीको यो टिप्पणी सार्वजनिक भएको हो।