नेपाल जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
ओमानले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले ९.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि लोकेश बमले सर्बाधिक ४४ रन बनाए भने रोहित पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै ९४ रन बनाएको थियो ।
ओमानका लागि कप्तान सुफयान महमूदले सर्बाधिक ३८ रन बनाएका थिए भने जुबैर अली अकबरले २२ रन तथा अब्दुलजलिल खानले १६ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग सोमबार खेल्ने छ । त्यस्तै ओमानले भने तेस्रो स्थानका लागि हङकङ र मलेसियाबीचको पराजित हुने टिमसँग सोमबारनै खेल्ने तालिका रहेको छ ।