Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

माननीय हुँ भन्दै प्रहरीलाई दबाब दिने व्यक्ति पक्राउ

आफूलाई प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिएर प्रहरी तथा अन्य व्यक्तिमाथि दबाब सिर्जना गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–७ माझिटार निवासी ३६ वर्षीय लोकबहादुर तामाङले आफू सिन्धुली- १ को प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की भएको भन्दै झुटो परिचय दिई ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्न खोज्ने तथा अभद्र व्यवहार गरेको सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

सिन्धुली प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।