Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

आजदेखि प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु हुँदै

सङ्घीय संसद्को प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल सुरु हुने भएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आज सोमबार दिउँसो १ बजे बस्ने सोह्रौँ बैठकमा सरकारद्वारा प्रस्तुत राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ गरिनेछ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्रीले प्रस्ताव पेश गरेपछि बजेटका प्राथमिकता, कार्यक्रम, स्रोत व्यवस्थापन तथा विभिन्न क्षेत्रका लागि गरिएको विनियोजनबारे सांसदहरूले आफ्नो धारणा राख्नेछन्।

सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। बजेटमा आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, निजी क्षेत्र प्रवर्द्धन, डिजिटल अर्थतन्त्र निर्माण तथा सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको छ।

प्रतिनिधिसभामा सुरु हुने छलफलपछि बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिनेछन् भने आवश्यक प्रक्रियापछि बजेट पारित गर्ने कार्य अगाडि बढाइनेछ।