राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख)सम्म भारत भ्रमण गर्न लागेका हुन्।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि सहभागी रहनेछन्।
रास्वपाका अनुसार भ्रमणका क्रममा नयाँदिल्लीमा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग समेत भेटघाट गर्नेछन्।
भ्रमणका क्रममा लामिछानेले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्याको पनि भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
भेटघाट, छलफल तथा भ्रमण कार्यक्रमको समन्वय नयाँदिल्लीस्थित नेपालको राजदूतावास, नयाँदिल्लीले गरिरहेको पार्टीका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।