काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
महानगरपालिकाका अनुसार जेठ १७ गते सम्पन्न छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई प्रारम्भिक योग्यताक्रमसहित उत्तीर्ण घोषणा गरिएको छ।
उत्तीर्ण विद्यार्थीहरूले काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालय तथा कलेजहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन्।
महानगरपालिकाले परीक्षार्थीहरूलाई आफूले अनलाइन आवेदन दिएको पोर्टलमार्फत नतिजा हेर्ने व्यवस्था मिलाएको जनाएको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमा प्राप्त पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्नेछन्।
यसअघि छात्रवृत्ति परीक्षाका लागि २६ हजार ८८८ विद्यार्थीले आवेदन दिएका थिए, जसमध्ये २६ हजार ६८० जना परीक्षामा सहभागी हुन योग्य ठहरिएका थिए। सार्वजनिक नतिजाअनुसार सहभागीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।