श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह को संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर साम्पाङले तीव्र आलोचना गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले प्रधानमन्त्रीको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले लेखेका छन्, “प्र.म.ले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको! हुतीहारा…”।
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। सीमा सम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्रीको भनाइबारे थप स्पष्टता आवश्यक रहेको भन्दै केही राजनीतिक व्यक्तित्वहरूले पनि चासो व्यक्त गरेका छन्।
यद्यपि, प्रधानमन्त्री कार्यालय वा सरकारका तर्फबाट साम्पाङको आलोचनाबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन।